वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०२ वर्षको उमेरमा पनि लोकसाहित्य साधनामा सक्रिय छन् । उनी सिर्जनात्मक जिन्दगीका पक्षपाती हुन् । भन्छन्, ‘दीर्घ जीवनभन्दा पनि चेतनायुक्त जीवन बाँच्नु अर्थपूर्ण हुन्छ ।’
ल लितपुरको पाटन दरबार स्क्वायर नजिकै बखुम्बहाल छ । बखुम्बहाल साहित्यिक तीर्थस्थल बनिसक्यो । त्यहाँ सधैं लोकसंस्कृति तथा साहित्य साधकको भिड लाग्छ । उनीहरू वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीका हातबाट आशिबार्द थाप्छन् । र, धन्य हुन्छन् । सय वर्ष नाघिसकेका सत्यमोहन सक्रिय जीवन बाँचिरहेका छन् । संस्कृति संरक्षणमा पनि उत्तिकै चिन्तनशिल छन् । त्यसैले उनी सबैको मनमा बस्न सफल भएका हुन् । उनको आँगनमा माता राजकुमारी र पिता शंकरदासको प्रतिमा छ । हरेक बिहान तिनलाई तर्पण दिन्छन् । साँझ आरती पनि गर्छन् । यहि बखुम्बहालमा वि.संं. १९७७ वैशाख ३० गते जन्मेका थिए सत्यमोहन । अचेल १०२ वर्षमा हिँडिरहेका छन् । उनकी जीवनसाथी राधादेवी भने ९८ वर्षकी भइन् ।
उनको पुरानो घर भत्काएर चार तले ‘लोकसाहित्य भवन’ बनाइएको छ । संसद विकास कोष र मनकारीहरूको सहयोगमा बनेको भवनलाई सांस्कृतिक संग्रहालयमा रुपान्तरण गरिँदै छ । भुइँतलामा हल, पहिलो तलामा मुद्रा संग्रहालय, दोस्रो तलामा पौभा संग्रहालय र तेस्रो तलालाई पुस्तकालयको रुप दिइएको छ । हलमा बरोबर कार्यक्रम भइरहन्छ । मुद्रा संग्रहालयमा अहिलेसम्म निष्काशन भएका मुद्रा सजाइएको छ । त्यही तलामा नेपाली हुलाक टिकट पनि छन् । दोस्रो तलामा मौलिक नेपाली कला झल्कने पौभा चित्र राखिएको छ । त्यहाँ चित्र बनाउने काम जारी छ । त्यसैगरि तेस्रो तलामा लोकसंस्कृति सम्बन्धी पुस्तकहरू राखिएका छन् । सबैतिर सत्यमोहनले पाएका उपहार र प्रमाणपत्रहरूले पनि ठाउँ पाएका छन् । चारतले भवनको कोरिडरभरि उनले पाएका प्रमाणपत्र र उपहार सजाइएको छ । त्यहाँ नअटेका प्रमाणपत्र र उपहारको चाङ नै छ । कर्मयोगी मान्छेले जीवनमा कतिसम्म काम गर्न सक्छ र उसलाई समाजले कत्तिको सम्मान गर्न सक्छ भन्ने उदाहरण हेर्न ‘लोकसाहित्य भवन’ राम्रो उदाहरण हो । त्यहाँ पुगेर अध्ययन गर्दा र उनलाई भेट्दा समाजका लागि योगदान गर्ने भावना जाग्छ । उनी थाकेका छैनन् । घरमा आइपुग्नेहरूलाई जीवन दर्शन सुनाउन झिँजो मान्दैनन् । घर बाहिरका कार्यक्रमहरूमा समेत पुगेर ज्ञानज्ञुन बाँड्छन् । शतायू पार गरिसक्दा समेत उत्तिकै सक्रिय छन् ।
उनी सिर्जनात्मक जिन्दगीका पक्षपाती हुन् । भन्छन्, ‘दीर्घ जीवनभन्दा पनि चेतनायुक्त जीवन बाँच्नु अर्थपूर्ण हुन्छ ।’ सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय छन् सत्यमोहन । त्यसैले जीवनको पछिल्लो कालखण्डमा उनले धेरै मान÷सम्मान पाएका । आखिर कर्म गरे फल त मिल्छ नै । ‘हिजो गोरखा दक्षिण बाहु पाँचौं श्रेणीको पाउन ठाउँठाउँमा धाउँथें । मिलाइदेउ भन्थें’, उनले सुनाए, ‘अचेल त घरमै सम्मान आइपुग्छ ।’ ‘सादा जीवन उच्च विचार’ नै उनको जीवन दर्शन । समाज हितका लागि कर्म गर्ने पात्र हुन् सत्यमोहन । उनको जीवनकथाले राष्ट्रियता र संस्कृतिप्रेम गर्न सिकाउँछ । लोकसंस्कृति, कथा, कविता, उपन्यास, नाटक आदि वाङ्मयका विभिन्न फाँटमा अतुलनिय योगदान पु¥याएस्वरुप उनले वाङ्मय शताब्दीपुरुष उपमा पाएका । उनले निरन्तरको साधना र सत्कर्मबाट आफ्नो भाग्य चम्काए । फलस्वरुप तीन पटक मदन पुरस्कार पनि पाए । नेपाली साहित्यमा मदन पुरस्कार सम्मानित छ । उनले पहिलोपटक मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोकसंस्कृति’ हो । पश्चिम नेपालमा संकलन गरेका झ्याउरे, दोहोरी र लोकगीत समेटिएको छ यसमा । यहि कृतिका लागि उनले वि.सं. २०१३ सालको मदन पुरस्कार पाए ।
त्यसपछि वि.सं. २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि फेरि मदन पुरस्कार पाए । त्यसमा नेपालको पाँचौ शताब्दीदेखि बीसौ शताब्दीसम्मका मुद्राको सचित्र वर्णन छ । तेस्रोपटक वि.सं. २०२८ मा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनीसहित पाँच जनाले संयुक्त रुपमा मदन पुरस्कार पाए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बखत उनको समूह (भाषाशास्त्री चुडामणि बन्धु, भुगोलवेत्ता जंगबहादुर सिंह, गायक प्रदीप रिमाल, सरकारी कर्मचारी विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशी) नेपाली भाषाको उद्गमथलो जुम्लाको सिञ्जा पुगेको थियो । उनीहरूले त्यहाँ दुई महिना बसेर पाँच खण्डको ग्रन्थ ‘कर्णाली लोकसंस्कृति’ लेखेका थिए । यसरी सांस्कृतिक र पुरातात्विक सम्पदाको खोज तथा अनुसन्धानमा उनले ठूलो योगदान पु¥याए ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री वि.पी. कोइरालाको शासनकाल वि.सं. २०१५ मा उनी पुरातत्व विभागका निर्देशक बनाइए । त्यतिबेला उनले महत्वपूर्ण काम गरे । तिनताका छाउनीमा मात्र संग्रहालय थियो । उनकै पहलमा हुनमानढोकामा राष्ट्रिय मुद्रा संग्रहालय, भक्तपुरमा राष्ट्रिय चित्र संग्रहालय र ललितपुरमा राष्ट्रिय धातुकला संग्रहालय खोलियो । बुद्ध जन्मथलो लुम्बिनीको उत्खनन पनि गरियो । उनी हिन्दू हुन् तर सबै धर्मप्रति आदरभाव प्रकट गर्छन् । एउटा उदाहरण उनको आँगनमा मायादेवीको मन्दिर पनि बनाइएको छ । नेपाल भाषाको श्रीबृद्धिमा समेत उनले काम गरे । नेपाल भाषामा महाकाव्य नै लेखे । नेपाल भाषा एकेडेमी स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । त्यति मात्र होइन, चीनमा गएर नेपाली कला प्रवद्र्धन गर्ने महान कलाकार अरनिकोलाई चिनाउने काम पनि सत्यमोहनले नै गरे । मान्छे उमेरमा होइन, कर्ममा बाँच्नुपर्छ । बुढ्यौली त प्रकृतिको बरदान हो । मान्छेले आफूलाई चिन्न सके आत्मसंतुष्टि मिल्छ भन्छन् सत्यमोहन ।
‘हामीले आफूभित्रको देवतालाई चिन्नुपर्छ’, उनले भने, ‘आफूले आफैंलाई चिन्न सके आनन्द मिल्छ ।’ उनले संकलन गरेको लोकगीत भन्छ, ‘के खायो होला के लायो होला वनकी चरिले...।’ यद्यपि ती चरा सुखी देखिन्छन् । उनी जुरेली चरालाई आफ्नो गुरु मान्छन् । ‘जुरेली दर्शन’ पच्छ्याएकाले उनी खुसी बने । ‘जुरेली चरालाई भोलिको चिन्ता छैन ऊ आनन्दपूवर्क बाँच्छ’, सत्यमोहनले भने, ‘त्यसैगरी बाँचौं न कुनै तनाव नलिई ।’ उनको अनुहारमा तनावका रेखा छैनन् । उनी मौलिक संस्कृति संरक्षणका पक्षमा हरपल चिन्तन÷मनन गरिरहन्छन् । विभिन्न जातजाति र धर्माबलम्बीको साझा फूलबारी उजिल्याउन पहिला ‘हामी नेपाली’ भन्ने भावना हुनुपर्छ । त्यसो भए मात्र राष्ट्रियताको डोरी कसिलो बन्छ । डाँडामाथिका घाम बनिसके उनी । जीवनमा गरेका सत्कर्मले उनलाई जुगजुगसम्म बँचाइरहनेछ । चाँडै उनको आत्मकथा पनि प्रकाशन हुँदैछ । उनको सेवामा ललितपुर महानगरपालिकाले एक जना सुरक्षाकर्मी, एउटा गाडी र ड्राइभर सुविधा दिएको छ । उनले आफ्नो लोकसाहित्य भवन ‘लोकसाहित्य परिषद’लाई दान दिइसके । त्यस्तै शरीर पनि दान गरिसके । सत्कर्म, राष्ट्रप्रेम र दानका त्रिवेणी सत्यमोहनको सुस्वास्थ्य एवं दीर्घायूको कामना !
खाना : मलाई नेपाली खाना दालभात र तरकारी मनपर्छ । मासु १–२ टुक्रा भए पुग्छ । पिरो खान्न । सुकेको साग र गुन्द्रुक पनि रुचाउँछु । कहिलेकाहिँ जेरी, बर्फी र हलुवा–स्वारी पनि खान्छ्ु । पहिलापहिला साँझमा नियमित रक्सी पिउँथें । अचेल कहिलेकाहिँ १ पेग खान्छु ।
पहिरन : नेपाली पहिरन दौरा, सुरुवाल, कोट र टोपी लगाउन मनपर्छ । मैले आमा वितेपछि रंगीन टोपी र छालाको जुत्ता लगाएको छैन । आफैं सिलाउन दिएर कपडाको सादा टोपी लगाउँदै आएको छु ।
सिनेमा : नाटकमा मलाई रुचि छ । लोकनाटक पनि उत्तिकै मन पर्छ । तर, मैले आफ्नै पैसाले टिकट काटेर आजसम्म फिल्म हेरेको छैन । कहिलेकाहिँ अतिथिका रुपमा पुगेर हेरेको छु । मलाई नेपाली चलचित्रमा देखाइने अस्वभाविक फाइटका दृश्य मन पर्दैन । फिल्ममा त वास्तविक जीवन पो देखाउनु पर्छ ।
संगीत : उमेरअनुसार गीत÷संगीतको मोह हुने रहेछ । उहिलेउहिले लोकगीत संकलनमा गाउँगाउँमा जाँदा कान्छा÷कान्छीका गीत पनि सुनियो । रमाइलो पनि भयो । अचेल बुढेशकाल भएर होला त्यस्ता गीतले छुँदैन । फिलोसपिकल र आध्यात्मिक गीत सुन्न मन लाग्छ ।
नेपालमा तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् सत्यमोहन जोशी । उनको गद्य कृति ‘हाम्रो लोकसंस्कृति’ले वि.सं २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ग्रन्थले वि.सं. २०१७ सालमा र ‘कर्णाली लोकसंस्कृति’ले वि.सं. २०२८ सालमा मदन पुरस्कार जितेका हुन् । ‘कर्णाली लोकसंस्कृति’का लागि भने उनीसहित पाँच जनाले संयुक्त रुपमा पुरस्कार पाएका । अचेल मदन पुरस्कार गुठीले एक स्रष्टालाई जीवनमा एक पटक मात्र मदन पुरस्कार अपर्ण गर्छ ।
सरकारले वि.सं. २०७४ वैशाख २१ गते सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दीपुरुष’ उपाधिबाट सम्मान गरेको हो । त्यस अघि त्रिमूर्ति निकेतनले वि.सं. २०७१ मंसिर १५ गते उनलाई ‘शताब्दीपुरुष’ घोषणा गरेर पाँच लाख नगदसहित सम्मान गरेको थियो । सय वर्ष नपुग्दै अर्थात् ९५ वर्षकै उमेरमा उनलाई शताब्दीपुरुष उपमा दिइएको हो । त्यसो त उनले सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधीको मानार्थ उपाधि, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत थुप्रै सम्मान पाइसकेका छन् ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्ष पुरा भएको अबसरमा वि.सं. २०७६ सालमा तीन किसिमका चाँदिका सिक्का निष्काशन गरिएको छ । नेपाल राष्ट्र बैंकले दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान सिक्का निष्काशन गरेको हो । यसको एकातिर सगरमाथाको चित्र छ भने अर्कातिर सत्यमोहन जोशीको ।
नेपाली सिक्काको इतिहासमा जिवित नागरिकको सम्मानमा सिक्का निष्काशन भएको यो पहिलो घटना हो ।