बुद्ध एयरले जनकपुर-अयोध्या उडानका रूपमा अयोध्यामा पहिलो अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवाका रूपमा पनि आफूलाई स्थापित गर्न थालेको छ
नेपाल-भारत सम्बन्ध भनेको सामाजिक, राजनीतिक, आर्थिकभन्दा पनि आध्यात्मिक उँचाइ बोकेको सम्बन्ध हो । यो सम्बन्ध तीर्थराज प्रयागको सङ्गमजत्तिकै पवित्र र विशिष्ट छ । नेपाल-भारतबीचको सम्बन्ध गङ्गा र यमुनाको सम्मिश्रण जस्तै अविच्छिन्न छ । यो उच्चस्तरको सङ्गम त अवश्य हो, तर प्रयागले तीर्थराज कहलिने सौभाग्य भने मात्र गङ्गा र यमुना आपसमा मिसिनाले पाएको होइन । त्यहाँ भित्रभित्रै सरस्वती मिसिन आएकोले त्यो सङ्गम तीर्थराज प्रयाग बन्न पुगेको हो । यहाँ गङ्गा र यमुना जस्ता नेपाल र भारत दुई देश त मुखर छन्, तर यसलाई आध्यात्मिक उचाइमा समेत विराजमान गराइ राख्न प्रत्यक्ष नदेखिने सरस्वतीरूपी मिथिला-अवध सम्बन्धको मुख्य योगदान छ भन्दा अत्युक्ति नहोला ।
की दिव्यभूमि मिथिला हम आबि गेलौँ ।
देखैत मात्र मन लक्ष्मण तृप्त भेलौँ ।।
की दिव्य फूलफल वृक्ष अनन्तधान
पक्षी विलक्षण करै अछि रम्यगान ।।।।
त्रेतायुगमा गुरु वशिष्ठका साथ राम र लक्ष्मण पहिलो पटक मिथिलाको राजधानी जनकपुर आउँदा भगवान् श्रीरामको मुखबाट निस्केका भावलाई डेढ सयवर्षअघि रचित “मिथिलाभाषा रामायण” मा कवीश्वर चन्दा झाले यसरी अभिव्यक्त गरेका छन् । यसको भावार्थ हो—
दिव्यभूमि मिथिला हामी आइपुग्यो
यहाँको दृश्यावली हेरेरै मन तृप्त भयो
कस्ता फूल, फल, बोट-बिरुवा र धान
यहाँ त चराले पनि रमाएर गीत गाए जस्तो लाग्छ ।
उसो त मिथिलाको इतिहास र गौरवगाथासँग परिचित हरेकजसो हिन्दू धर्मावलम्बीहरूका लागि जनकपुर भनेको सपनाको नगरी हो, जहाँ जीवनमा एकचोटि पुग्ने अभिलाषा हुन्छ । जगज्जननी जानकीको माइतीघर जनकपुर पुग्ने उत्कण्ठा जति नै कौतुहल मानिसमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मथलो अवधनगर अर्थात् अयोध्या पुग्ने सन्दर्भमा पनि हुन्छ ।
राम र सीतालाई सामान्यतया हिन्दूहरूले भगवानको रूपमा मान्ने गरे तापनि यी दुई पवित्र स्थलका जनसुमदायले भने यिनलाई परिवारको सदस्यका रूपमा हेर्ने गर्दछन् । जनकपुरमामात्र नभई सिंगो मिथिला क्षेत्रमा सीतालाई चेलीबेटीका रूपमा लिइन्छ र किशोरीजी भनेर सम्बोधन गरिन्छ । त्यसैगरी अयोध्या मात्र नभई सम्पूणर् अवध क्षेत्रमै मर्यादा पुरुषोत्तम भगवान् श्रीरामलाई बाबु भनेर बोलाइएझैँ रामलला सम्बोधन गरिन्छ । आ-आफ्ना आराध्यसँग लौकिक प्रकृतिको आत्मीयताले गर्दा दुवै क्षेत्रका आमजन समुदाय अहिले पनि परस्पर एक-अर्कालाई कुटुम्बको रूपमा व्यवहार गर्ने गर्दछन् । अयोध्यातिर मिथिलाको परिचय बोकेर पुगेका मानिसलाई सालोको साइनो गाँसेर गाली गर्ने प्रचलन अद्यापि विद्यमान छ । यसले परस्पर आत्मीयताको उत्कर्ष बोकेको कुरा सहजै थाहा पाउन सकिन्छ ।
जनकपुर र अयोध्याबीचको भौतिक दूरी ४९३ किलोमीटर छ, जुन सडक मार्गबाट एक दिनभरिको यात्रा हो । तर समुचित रूपमा साधनहरूको अनुपलब्धताले जनकपुरबासी र अयोध्याबासी कुटुम्बहरूको भेटघाट चाहिँदो मात्रामा हुन सकिरहेको छैन । यो कुटमैती (कुटुम्बपना) अझ झाङ्गियोस् भन्ने आकांक्षा दुवै क्षेत्रका जनसमुदायहरूमा पाउने गरिन्छ । यसको ज्वलन्त प्रमाण हामी विवाहपञ्चमीका अवसरमा देख्न सक्छौँ, जुन अवसरमा त्रेतायुगीन घटनाको पुनरावृत्ति गर्दै अयोध्याबाट जनकपुर आउने जन्तीमा हजारौंको संख्यामा मानिस सहभागी हुने गर्दछन् र जनकपुरमा मिथिला परम्परा अनुसार सातदिने सीता-रामविवाह अनुष्ठान सम्पन्न गरिन्छ ।
जनस्तरमा रहेको यस विशिष्ट सम्बन्धलाई अझ व्यापकता दिने दिशामा रामायण सर्किट निर्माणको परिकल्पनाले निकै टेवा पुर्याएको छ । जनकपुरधाममा त देशकै एक धरोहर भन्न लायक जानकी मन्दिरले सवा सय वर्षदेखि भव्यता प्रदान गरेकै छ, भारतमा पनि वर्षौंको रस्साकस्सीपछि अयोध्यामा भव्यतम राममन्दिर निर्माणको कार्य द्रुतगतिमा बढिरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष अघि जनकपुर-अयोध्या बस सेवाको उद्घाटन गरेबाट दुवै पौराणिक शहरबीच आवागमनको मार्ग केही सजिलो भएकै छ । यसबीचमा अयोध्यामा भव्य तर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अझ महत्त्वपूणर् कुरा त के छ भने नेपालको सबैभन्दा विस्तृत सञ्जाल भएको बुद्ध एयरले जनकपुर-अयोध्या उडानका रूपमा अयोध्यामा पहिलो अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवाका रूपमा पनि आफूलाई स्थापित गर्न थालेको जानकारी पाइएको छ । यो त्रेतायुगीन सम्बन्धलाई जनस्तरमा अझ आत्मीय बनाउने दिशामा एउटा कोसेढुङ्गा हुनजानेछ भन्ने मेरो धारणा रहेको छ ।
यस कदमले नेपाल-भारत मैत्री सम्बन्ध सुदृढीकरणमा पनि उल्लेख्य भूमिका निर्वाह गर्नेछ । नेपाल र भारत दुई देशबीचको सम्बन्धलाई हामी परापूर्वकालदेखिकै प्रगाढ मैत्री सम्बन्धका रूपमा चित्रित र व्याख्यायित गर्दै आएका छौं । दुवै देशबीच बेटीरोटीको पनि गहिरो साइनो रहेको बताउने गरिन्छ । यस सामाजिक सम्बन्धको सूत्रपातका रूपमा हजारौं वर्ष पहिले आयोजित अनुष्ठानको निरन्तर नवीकरणका दृष्टिले पनि यसलाई एउटा उल्लेख्य कदम मान्न सकिन्छ ।