एक समय नेपाली फिल्म जगतमा शिक्षित अभिनेत्री भेट्नै गाह्रो थियो । अभिभावक आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्थे तर फिल्म क्षेत्रमा प्रवेश गरेको रुचाउँदैनथे । तर, आज समय बदलिएको छ । नेपाली फिल्म जगतमा धमाधम शिक्षित अभिनेत्रीको आगमन भैरहेको छ ।
‘स्वर’ फिल्मबाट अभिनयमा डेब्यू गरेकी केकीले ‘बिजनेस एडमिनिस्ट्रेसन’मा मास्टर्स डिग्री लिएकी छन् । दिक्षान्त समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट एमबीएको प्रमाणपत्र थापेपछि उनले गरेको भाषणले सबैलाई भावुक बनाएको थियो । उनले भनेकी थिइन–‘मैले शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्ने साहस गुमाएकी छैन ।’
फिल्म सुटिङका कारण राती अनिदो बसिबसि पढेकाले पढाइमा सफलता मिलेको उनको भनाई छ । उनले काठमाडौँ, बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजबाट ‘ह्युमन रिसोर्स म्यानेजमेन्ट’ मा एमबीए गरेकी हुन् ।
केकी पुस्तक पढ्नमा रुचि राख्छिन् । नारीवादी भएकाले महिलासँग सम्बन्धित पुस्तकले उनको मन छुन्छ । भन्छिन्, ‘ब्राजिलियन उपन्यासकार पाउलो कोहेलोको ‘इलेभेन मिनट्स’ दोहोर्याएर पढेको थिएँ । महिलासँग संवेदनशील विषय पुस्तकमा उठान गरिएको थियो । त्यस्तै बुद्धि सागरको लेखन पनि मन पर्छ ।’
पुस्तक विमोचन समारोहमा बरोबर अतिथि बनेर पुग्छिन् ऋचा शर्मा । स्कुल लेभलको पढाई सकेपछि बिजनेस स्टडीज पढ्ने निर्णय गरेकी उनले काठमाडौंको ग्लोबल म्यानेजमेन्ट कलेजबाट कमर्समा ब्याचलर गरेकी छिन् । त्यसपछि अभिनय निखार्न फ्रान्स पुगेर तीन महिने एक्टिङ कोर्स गरिन् । फिल्म ‘फस्ट लभ’बाट अभिनय यात्रा थालेकी उनी फरक–फरक भूमिकामा अभिनय गर्न रुचाउने भर्सटाइल अभिनेत्री हुन् ।
उनी फुर्सदमा पुस्तक पढ्छिन् । ‘म आफू लेख्न सक्दिन त्यसैले होला सक्ने मान्छेप्रति निकै नतमतष्क हुन्छु । बुद्धि सागर र नयनराज पाण्डे मेरा प्रिय लेखक हुन्’, उनी भन्छिन्, ‘बुद्धिसागरको पुस्तकमा जन्मथलो कैलालीको गन्ध आउँछ, नयन दाईको पुस्तकमा सोच्दैनसोचेको स्वाद पाइन्छ ।’
नयनको लू र बुद्धिको कर्णाली ब्लूज उनलाई जति पढे पनि बोर नलाग्ने पुस्तक हुन् । ऋचा घुमफिर र खानपिनमा सौखिन छिन् । उनलाई थकाली र नेवारी खानाा मन पर्छ । उनलाई घुमफिरमा पोखरा गइरहन मन लाग्छ ।
नाइँ नभन्नू ल–२ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी वर्षा फिल्म ‘पशुपतिप्रसाद’बाट दर्शकसामु ‘नोटिस्ड’ भएकी हुन् । स्कुल जीवनदेखि नै पढाईंमा सधैं ‘फस्ट’ हुन्थिन् । प्लस टुमा पनि फस्ट भइन् । बीबीए पढ्दापढ्दै अभिनयमा लागेकी उनी त्यसपछि भने फस्ट भइनन् । पढाइ र काम दुवैसँगै बढाउन चुनौतीपुर्ण रह् यो । उनले काठमाडौंको एपेक्स कलेजबाट बिबिए पास गरिन्, अहिले मास्टर अध्ययनको तयारीमा छिन् ।
‘सानैदेखि नाच्न र गाउन हुरुक्कै हुन्थेँ । पारिवारिक जमघट होस् या कुनै कार्यक्रम, म नाचिहाल्थेँ । तर, अभिभावकले भने पढाइको चिन्ता सधैँ गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘बाआमा सधैं पढाइ पहिलो प्राथमिकतामा हुनुपर्छ भन्नुहुन्थ्यो ।
जब उनले ‘नाइँ नभन्नू ल २’ मा अभिनय गरिन् त्यसपछि राम्रो प्रतिक्रिया पाइन् । उनी बाहिरी पुस्तक अध्ययनमा पनि रुची राख्छिन् । निक भुजिसिकको ‘लिमिटलेसः डिभोसन्स फर ए रिडिक्युलसली गुड लाइफ’ उनलाई मनपरेको पुस्तक हो । निक शारीरिक रूपमा अशक्त भए पनि उनको लेखन प्रेरणादायी छ । जसले जीवन जिउन सिकाउँछ ।
घुमफिरमा पनि रुची राख्ने उनलाई मुस्ताङ असाध्यै मनपर्छ ।
टेलिभिजन प्रस्तोता हुँदै फिल्ममा प्रवेश गरेकी रीमा पढन्तेमा पर्छिन । उनले मास कम्यूनिकेसन एन्ड जर्नालिज्ममा ब्याचलर गरेकी छिन् । उनी कोर्स बाहिरका पुस्तक पनि पढ्छिन् । पाउलो कोहेलो उनका प्रिय लेखक । पाउलोको ‘जाहिर’ उनलाई मनपर्छ । ‘आफू महिला भएकाले पनि होला नारीवादी पुस्तकले छुन्छ,’ उनले भनिन्, ‘कृष्ण धराबासीको उपन्यास ‘राधा’ ले मन छोएको थियो । पछिल्लो समय बुद्धिसागर पनि मनपर्छ । उहाँको ‘फिरफिरे’ले छोएको थियो ।’
अध्ययनबाहेक घुमफिर र खानपिनकी सौखिन हुन् रीमा । मुस्ताङ र पोखरा खुब मन पर्छ उनलाई । विदेशमा इटाली मनप¥यो । अब स्पेन र माल्दिभ्स घुम्ने योजना छ । खानपिनमा उनलाई खिर मिठो लाग्छ ।
बेनिशा हमाल
फरक–फरक चरित्रमा काम गर्न रुचाउने अभिनेत्री बेनिशाले ‘स्वर’ फिल्मबाट डेब्यू गरेकी हुन् । उनले ‘कालोपोथी’ र ‘मोक्ष’बाट प्रशंसा बटुलिन् । काठमाडौंको कान्तिपुर कलेजबाट मेजर इङ्लिस र मास कम्युनिकेसनमा ब्याचलर गरेकी उनले गोल्डेनगेट इन्टरनेशनल कलेजबाट एमए गरेकी छिन् । अध्ययनमा रुची छ । उनलाई पनि पाउलो कोएलो प्रिय लाग्छ । ‘उहाँका धेरै पुस्तक पढेकी छु । त्यस्तै अफगानी लेखक खालिद हुसेनको ‘काइट रनर’ एकदमै मनपरेको पुस्तक हो’, उनले भनिन्, ‘बालमनोविज्ञानमा आधारित यो पुस्तक मलाई यथार्थपरक लाग्छ । यही पुस्तकमाथि पछि फिल्म बन्यो, फिल्म पनि राम्रो थियो । ’
फिल्म नगरीमा हालै उदाएकी नायिका हुन् दीपिका । फिल्म ‘ऐश्वर्य’मा उनको अभिनय र सुन्दर लुक्सका कारण धेरैले मन पराए । केएनके कलेजबाट ‘सोसियल वर्क’ विषयमा ब्याचलर गरेकी उनी यतिबेला मास्टर्स फस्ट इयरमा पढिरहेकी छिन् । त्रिभुवन विश्वविद्यालय मास्टर्समा पब्लिक एडमिनेस्ट्रेसन विषय लिएर पढिरहेकी छन् ।
फूर्सदमा पुस्तक पढ्न रुचाउने उनी उपन्यासकी पारखी हुन् । त्यसमाथि पनि पाउलो कोइलो र चेतन भगतका पुस्तक खुब पढ् छिन् । ‘भगतका उपन्यास यथार्थपरक हुन्छन्, वास्तविक जीवनमा रिलेट गर्ने खालको हुन्छ’, उनले भनिन् । घुमफिरमा उनको खासै रुची छैन । ‘म ट्राभलर नै त होइन तर झापा घुम्न मन छ । झापा मेरो ओरिजिनल ठाउँ हो तर म गएको छैन्’ उनले भनिन् ।
खानपिनको पनि खासै शौकिन होइनन् दीपिका । खानामा नर्मल दालभात र तरकारी भए पुग्छ उनलाई । खाजामा सिज्लर र फ्राइड मःम मन पराउँछिन् । अनि आइसक्रिम खुब रुचाउँछिन् ।
व्यस्त प्रियंका पनि शिक्षित अभिनेत्रीको सुचीमा पर्छिन् । रातो बंगलामा ए लेभलको कोर्स सकेपछि उनी केही वर्षअघि ‘फिल्म मेकिङ’ पढ्न अमेरिका पुगिन् । ६ वर्षसम्म अमेरीकाको अध्ययनले धेरै कुरा सिकाएको उनी बताउँछिन् । ०६३ सालमा एसएलसी दिएकी प्रियंका स्कुलकी अब्बल विद्यार्थी थिइन् । अध्ययन, घुमफिर र खानपिनमा उनी सौखिन छिन् ।