जहाजको निगरानी भुईंदेखि आकाशसम्म

जहाजको निगरानी भुईंदेखि आकाशसम्म

गन्तव्यतर्फ उडिरहेका विमानमा अप्रत्याशित प्राविधिक समस्या देखिएपछि पाइलटले काठमाडौं वा नजिकैका विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेका समाचार बेलाबेलामा हामी सबैले पढिरहेका हुन्छौं । पछिल्लो समय नेपाली आकाशमा उडिरहेका आन्तरिक वायुयानका दुईमध्ये एउटा इन्जिनमा गडबडी भएको, कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको, फायर वार्निङ वा जहाजका पाङग्रासँग सम्बन्धित ल्यान्डिङ गियरका समस्या, चरा ठोक्किएका घटना एकाएक देखिए जहाज इनरुटबाट युटर्न गरेर नजिकैको विमानस्थलमा अवतरण नहुँदै समाचार र यात्रुका भिडियो सामाजिक सञ्जालमा छाइसक्छन् । यस्ता समाचारले सर्वसाधारणलाई जहाज मर्मतमा हेलचेक्र्याइ पो हुन्छ कि ? नियमित मर्मतसम्भारमा बेवास्ता पो गरिन्छ कि भन्ने शङ्का पैदा हुन सक्छ । तर, संसारभर उडानमा रहेका हरेक जहाज निगरानीमा हुन्छन् । उडानपछि वा हरेक दिन अनिवार्य जाँचपड्ताल हुन्छ । अझ अत्याधुनिक प्रविधि जोडिएका आधुनिक, मध्यम र ठूला जेट विमानमा जहाज अवतरण हुने बित्तिकै उडानका क्रममा इन्जिनले सामना गर्नुपरेका उतारचढावका विवरणहरू डेटामार्फत जहाज निर्माता, डिजाइनर, अपरेटर वा अपरेटरले तोकेका अरु कुनै सङ्गठनसमक्ष पुगिसक्छन् । बुद्ध एयरका क्वालिटी एसुरेन्स म्यानेजर उपेन्द्रलाल श्रेष्ठका अनुसार, संसारभर कुनै पनि जहाज बिक्री भइसकेपछि कम्पनीले बेवास्ता गर्नै मिल्दैन । जहाज जहिलेसम्म उडानयोग्य भइरहन्छ, त्यो जहाजको डिजाइनर, इन्जिन वा अन्य यन्त्र उपकरण उत्पादक कम्पनीको निगरानीमा हुन्छ । टाइप सर्टिफिकेट होल्डर पनि भनिने जहाज उत्पादन गर्ने कम्पनीले आना उत्पादनलाई उडाउने संसारभरका वायुसेवा कम्पनीसँग हरेक जहाजको विस्तृत विवरण मागिरहेको हुन्छ । उत्पादक र अपरेटरहरूबिच जहाजलाई तन्दुरुस्त राख्न सूचना आदानप्रदान हुने स्थायी प्रणाली नै हुन्छ । 


यदि कुनै वायुसेवाले उदाहरणका लागि इन्जिनमा केही नयाँ समस्या सामना गर्नुपरेको भए उसले अरु वायुसेवालाई सावधानी अपनाउन भन्छ वा समस्याको समाधान यसरी गर्नु भनेर सहायता दिइरहेको हुन्छ । यसले हवाई सुरक्षामा मद्दत पुग्छ । विश्वभर सैनिक र गैरसैनिक वायुयानमा सर्वाधिक प्रयोग हुने इन्जिन उत्पादन गर्ने तीन वटा शक्तिशाली कम्पनीहरूमध्येको क्यानडाको प्राट एन्ड ह्विटनीले बनाएकोे इन्जिन नेपालका अधिकांश वायुयानमा छन् । प्राट एन्ड ह्विटनीले ‘फास्ट’ (लाइट डेटा एक्विजिसन, स्टोरेज एन्ड ट्रान्समिसन) भनिने एउटा प्रणालीको विकास गरेको छ । जसले जहाजको इन्जिनको डिजिटल स्वास्थ्य व्यवस्थापनमा मद्दत गर्छ ।
नेपालमा उडानमा रहेका एटिआर–५०० सिरिजका पछिल्ला जहाजमा ‘फास्ट’ प्रणाली छ । १५ वर्ष नेपाल वायुसेवा निगममा काम गरी ११ वर्षयता बुद्धमा कार्यरत इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार, बुद्धका १६ वटा एटीआर विमानमध्ये फास्ट प्रविधि जडान गरिएका ८ वटा जहाज जब कुनै गन्तव्यका लागि उड्छन् । तीनको इन्जिनको डेटा, इन्धन खपत, इन्टर टर्बाइन तापक्रम, प्रोपेलरको गति, इन्जिनको गतिलगायतका सयौं पेरामिटरको रेकर्ड रहन्छ । ‘फास्ट प्रविधि जडान गरेका जहाजमा हामीले सिमकार्ड राखेका छौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘जस्तो कि काठमाडौंबाट धनगढी गएको जहाज, त्यहा अवतरण हुने बित्तिकै सिमकार्ड सक्रिय हुन्छ । त्यसको सहायताले जहाजले काठमाडौंदेखि धनगढी उड्दा दुबै इन्जिन कति गतिमा कुद्यो, के समस्या सामना गरे लगायतका थुप्रै प्यारामिटर हामीले जहाज नफिर्किदै पाइसक्छौं ।’ उनका अनुसार, जहाज धनगढीबाट नफर्किदै त्यो डेटा प्राट एन्ड ह्विटनीको सिङ्गापुरमा रहेको एसिया क्षेत्र हेर्ने निकायको सर्भरमा पनि पुगिसक्छ । ‘कहिलेकाही त जहाज ग्राउन्डमै रहँदा पनि इन्जिनमा कुनै असामान्य गतिविधि देखा परे सिङ्गापुरबाट हामीलाई खबर नै आइसक्छ ।

Aircraft maintenance at Hangarअचेल हुने उडानमा इन्जिनमा यदाकदा केही भइहाले त्यो हरबखत वायुसेवा सञ्चालक तथा इन्जिन उत्पादक वा अरु तोकिएका निकाय समक्ष पुगिसकेको हुन्छ । अब कुरा गरौ फास्ट प्रविधि नभएको जहाजमा इन्जिनको स्वास्थ्य अवस्थाबारे । यस्ता जहाजमा हरेक दिन काठमाडौंमा अन्तिम अवतरणपछि डेटा डाउनलोडरबाट दिनभर इन्जिनको साथै उडानका गतिविधि डाउनलोड गरीन्छ । त्यो डेटा सर्भरमा अपलोड गरेपछि बुद्ध एयरले नेपालबाहिर नियुक्त गरेको इन्जिन हेल्थ मोनिटरिङ अर्गनाइजेसन र लाइट डेटा मोनिटरिङ तथा एनलाइसिस गर्ने एजेन्सीसमक्ष पुग्छ । ‘त्यस्ता डेटामा थुप्रै प्यारामिटरका तथ्याङ्क हुन्छन । तिनलाई विश्लेषण गरेर के गर्नु पर्ने हो, कसरी मर्मत गर्ने हामीलाई आवश्यक पर्ने सूचना अपरेटरलाई दिइन्छ ।,’ इन्जिनियर श्रेष्ठले भने । 

सयौं प्यारामिटर देखिने ककपिटको ड्यासबोर्डमा पाइलटलाई चुरोटको धुवाँजस्तै जहाजको इन्जिन होस् वा अरु कुनै उपकरणमा समस्या देखिहाले बत्ती बलेर वा ध्वनि वा दुबैले एकसाथ सङ्केत जनाउछन् । ‘ककपिटमा विभिन्न प्रकारका सङ्केतका आवाज सुनिन्छन । कुनै मधुरो आवाजमा बज्छन भने कुनै ध्वनि कानलाई नै कर्कस सुनिने हुन्छन्,’ इन्जिनियर श्रेष्ठ भन्छन्, ‘समस्याको ग्रयाभिटीअनुसार सजग गराउन बल्ने बत्ती कुनै पहेलोजस्तै देखिने एम्बर लाइट बल्छन् भने कुनै रातो रङमा बल्छन ।’अर्को जहाजको अनबोर्डमा हुने लाइट डेटा रेकर्डर (एफडीआर) हो । यसले कुनै पनि विमानको उडानका विभिन्न अवस्थाहरूको रेकर्ड राख्दछ । विमानको उचाइ, समय, जहाज तथा वायुको गति, दिशा, जहाजको उडानका क्रममा जहाजको एटिच्यूडलगायत सय बढी मापदण्डको अनुगमन तथा रेकर्ड राख्दछ । यसले कुनै विषयमा अनुसन्धान गर्न मद्दत पुग्छ । 


ककपिट र जहाजभित्रका आवाजहरूको रेकर्ड रहने अर्को उपकरण ककपिट भ्वाइस रेकर्डर हो । सामान्यतः यसमा दुई पाइलट तथा एयर ट्राफिक कन्ट्रोलरका आवाजहरूको रेकर्ड रहन्छ । यसबाहेक इन्जिनको हल्ला, ल्यान्डिङ गियर तानेको वा झारेको, डाँडानजिकै जहाज पुग्दा आउने स्टल वार्निङ, क्याबिनक्रुसँगका संवाद आदिको पनि रेकर्ड रहन्छ । अहिले त यात्रुहरू जहाज अवतरणका क्रममा पाइलटले भुर्इंमा पाङ्ग्रा बजार्दै कडा अवतरण (हार्ड ल्यान्डिङ) गरे÷गरेनन भन्ने पनि चाल पाउन थालिसके । यो विषय पनि लाइट डेटा रकर्डरमा रहन्छ । पाइलटलाई कुनै निश्चित उडानमा त्यस्तो भहाइले के कारणले हार्ड ल्यान्डिङ भयो ? सफ्ट ल्यान्डिङ किन भएन भनी वायुसेवा सञ्चालकहरूले स्पष्टीकरण लिइहाल्छन् । जसरी चालकदल नेभिगेसन चार्टहरू अध्ययन गरिरहेका हुन्छन । प्राविधिक तथा इन्जिनियरले टाइप सर्टिफिकेट होल्डर, उत्पादक, डिजाइन कम्पनीले बेलाबेला प्रकाशित गर्ने जहाज मर्मतसम्भार सम्बन्धी विभिन्न दस्ताबेज, म्यानुअलहरू अध्ययन गरिरहनु पर्छ ।

यस्तो अध्ययनबाट जहाजको मर्मत सम्भार तालिका, प्रोग्राम तयार पारिन्छ । त्यसलाई नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनु पर्छ । मर्मतसम्भार तथा निरीक्षण कसरी गर्ने भनी जहाजको टाइप सर्टीफिकेट होल्डरले निर्देशिका प्रकाशित गरेको हुन्छ । त्यसैलाई हरेक इन्जिनियरले पालना गर्नुपर्ने हुन्छ । जहाजहरूको मर्मतसम्भार त्यही तालिकाअनुरुप गरिन्छ । विमानको मर्मतनिरीक्षण अर्को महत्वपूर्ण विषय हो । यसलाई एयरक्राट इन्स्पेक्सन भनिन्छ । जसलाइ अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ), युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी तथा अमेरिकाको फेडरल एभिएसन एड्मिनिस्ट्रेसन र स्थानीय नियमनकारी निकायले अनिवार्य मान्दै आएका छन् । यी संस्थाहरूको निर्देशनअनुसार, जहाजहरूको दैनिक प्राविधिक निरीक्षण अनिवार्य गर्नुपर्छ । बुद्ध एयरका अर्का इन्जिनियर मंगेस थापाका अनुसार, नेपालमा मात्रै होइन संसारभर, सैनिक विमान हुन् वा गैरसैनिक तथा कार्गो तिनको ‘ए–टु–जेड’ जाँच अनिवार्य हुन्छ । जहाजको सरसर्ती अवलोकनदेखि सूक्ष्म जाँच हुन्छ । थापाका अनुसार, जहाज तथा तिनका उपकरण र यन्त्रको दैनिक इन्सेपेक्सनबाहेक समय (घण्टा), साइकल(ल्यान्डिङ) र क्यालेन्डर (हप्ता–महिना–वर्ष) मा आधारित जाँच हुन्छन् । यसले कुनै पनि उपकरण फेलियर हुनुअघि नै बदली भइसक्छन् । ‘जहाजको आयु तीनवटा विषयमा निर्भर हुन्छ,’ बेलयातबाट एकवर्षे एरोनटकिल अध्ययन समेत गरेका थापाले भने, ‘कुनै पनि उपकरण वा यन्त्रको जीवन एउटा घण्टा (कति समय), अर्को साइकल( कति ल्यान्डिङ) र तेस्रो क्यालेन्डर (हप्ता, महिना, वर्ष) मा निर्भर हुन्छ । यी तीन आधारमा जाँच हुँदा सामान्यतः कुनै पनि उपकरण ‘फेलियर’ हुनुअघि नै बदली भइसक्छन् ।’


इन्जिनियर थापाका अनुसार राती पार्किङमा राखिएको विमानलाई बिहान उडाउनुअघि प्राविधिक, इन्जिनियरको जँच अनिवार्य हुन्छ । पाइलट ककपिटमा बस्नुअघि प्राविधिकहरूले विमानको ‘फङ्सनल टेस्ट’ गर्छन् । तीनले जाँचेको ठिक छ÷छैन इन्जिनियरले हेर्छन् । अनिमात्रै पाइलटलाई जहाज उडाउन हस्तान्तरण गरिन्छ ।
पाइलटले पनि जहाज ठिक छ÷छैन जाँचेर लिखित हस्ताक्षरसहित स्विकारेको कागज बुझाउनुपर्छ । यस्तो कामका लागि सबै वायुसेवाले विमानस्थलमा छुट्टै युनिट ‘लाइन मेन्टिनेन्स’ राखेका हुन्छन । यसले विमान फर्केर आउदा पाइलटले औंल्याएका साना समस्याहरूको निराकरण गर्ने हो । ‘लाइन मेन्टिनेन्स बढीमा तीन दिनसम्मको मर्मत हेर्छ,’ इन्जिनियर थापा भन्छन्, ‘त्यसमाथिको समस्या देखिए विमान ह्याङ्गरमै लगेर मर्मत गर्न अर्को नियमित विभागलाई जहाज बुझाइन्छ ।’लाइन मेन्टिनेन्समा होस् वा ह्याङ्गरमा रहने प्राविधिक र इन्जिनियरले गरेका कामको नियमनकारी निकाय, प्राधिकरण मातहत सिनामङ्गलमा रहेको लाइट सेटी स्ट्यान्डर्ड विभागले हेर्छ । मापदण्ड पालना गरे÷नगरेको विभागले बेलाबेला नियमित बाहेक आकस्मिक जाँचमा हरेक विमानको ‘लगबुक’ पनि हेर्छ ।

लाइन मेन्टिनेन्स दैनिक उडानका क्रममा विमानमा आइपर्ने समस्या समाधानका लागि स्थापना गरिएको सानो एकाइ मात्रै हो । यसबाहेक हरेक वायुसेवा कम्पनीले जहाजको वार्षिक ‘ह्याङ्गर भिजिट’ कार्यक्रम राखेको हुन्छ । त्यो प्रायः हरेक वायुयानको एक वर्ष पहिल्यै तय भइसक्छ । अर्थात्, कुन जहाजको कुन पार्ट जाँचपड्ताल गर्नुपर्ने, फेर्नुपर्ने वा मर्मतसम्भार गर्नुपर्ने हो भनेर क्यालेन्डर नै बनाइएको हुन्छ । त्यसबेला आवश्यक पर्ने पार्टपुर्जा, टुल्सलगायत सामान झिकाइसक्नु पर्छ ।
वायुसेवा कम्पनीले विमानको निरन्तर जाँच‍ गरिहनुपर्छ । हरेक विमानको लिखित कागजात नियमनकारी निकाय र जहाज तथा इन्जिन उत्पादकलाई पनि अनिवार्य बुझाउनु पर्छ । कुनै नयाँ गम्भीर समस्या देखापरे तिनको पनि नियमनकारी र उत्पादकलाई अवगत गराउनै पर्छ । विमान मुख्यतः ५ प्रकारका जाँचमा परिरहन्छन् ।
जहाजको बाहिरी र भित्री भागको आँखाले हेरेर गरिने जाँच, कुनै विशेष यन्त्र वा उपकरणको सहायताबाट हुने फङ्सनल जँच, जहाजको ककपिटमा मात्रै गरिने अपरेसनल जाँच र विमानको संरचनालाई असर नपर्ने गरी हुने एक्सरे, अल्ट्रासोनिक आदि । 


जहाजमा प्रयोग भएको धातुमा कुनै दरार वा खिया छ, छैन मानिसमा जस्तै एक्सरे अनिवार्य गर्नुपर्छ । त्यस्तै जहाजमा प्रयोग भएका नटबोल्टमा पनि कुनै छिद्र वा काम नलाग्ने भइसकेका छन् कि छैनन् भनेर एमपीआई (म्यागनेटिक पार्टिकल इन्सपेक्सन) पनि गर्नुपर्छ । कतिपय नटबोल्टलाई अँध्यारो कोठाभित्र डाई प्रयोग गरेर पराबैंजनी उज्यालोमा जाँच्नुपर्छ । वायुसेवाले नियमनकारी निकाय वा यात्रुलाई छलछाम गरेर जहाज उडाउनु असम्भव छ । यस्ता अभिलेख तथा जहाजहरूको जाँच अन्तर्राष्ट्रिय निकायहरूले पनि बेलाबेला नेपालमै आई अडिट गर्छन् । आधुनिक जहाजमा एउटा उपकरण वा यन्त्रले काम नगरेमा त्यसको दोस्रो मात्रै होइन तेस्रोसम्म विकल्प हुन्छ । त्यसैले उडिरहेको विमानमा कुनै प्राविधिक समस्या चालकदलले सामना गरेमा गन्तव्यमा नपुगेर जोखिम नलिई फर्किनु हवाई सुरक्षा हो । आत्तिनु पर्दैन ।