उपन्यासकार शिवानीसिंह थारुसंग ५ कुरा

उपन्यासकार शिवानीसिंह थारुसंग ५ कुरा

Siwanishingh Tharuपुस्तक

मलाई आख्यान, गैर–आख्यान दुवै खाले पुस्तक मन पर्छ । धेरै किसिमका पुस्तकले मलाई प्रभाव पारेका छन् । विश्वेश्वरप्रसाद कोइरालादेखि वानिरा गिरी, नयनराज, बुद्धिसागरको लेखनले प्रभाव पारेको छ । त्यस्तै अग्रेंजीमा लियो टोल्सटोय, दोस्तोवस्की, एमिली ब्रोन्ते, रेमन्ड च्यान्डलर, आर्थर कोनान डोयल, डाफ्ने डु मोरियरसम्मले प्रभाव पारेका छन् । 

मैले उपन्यास लेखेकी छु । मेरो कथा, मैले बाँचेको समयको कथा अरूले भन्दा म आफैले लेख्नु पर्छ भनेर लेखेकी । मेरो उपन्यासले सन्देश दिदैंन र दिनु पनि हुँदैन । यो अनुभूति हो ।

भ्रमण 

मलाई घुमफिरमा एकदमै रुचि छ । एक्लै घुम्न रुचाउने हुनाले सकेसम्म मलाई चाहिने सिटामोलदेखि लुगा धुने साबुन बोकेरै जाने कुरामा ध्यान दिन्छु । अनि मैले प्रण नै गरेकी छु–मर्नु भन्दा अगाडि नेपालको पूर्वदेखि पश्चिमसम्म यात्रा गर्छु भनेर । नेपालभित्र मेरो मन हरेको ठाउँ मनाङ हो । जता फर्के पनि मनाङ पेन्टिङ जस्तो लाग्छ– हलिउड फिल्मको सेट जस्तो । 

मलाई घुम्न जान मन लागेका थुप्रै ठाउँ छन् । विश्व इतिहासमा रुचि भएको हुनाले एकपटक इजिप्ट जान मन छ । 

खाना 

खाना भन्दा मेरा लागि भोक मिठो हो । भोक लागेका बेला निस्तो भात र टमाटरको चट्नीमा पनि स्वर्गीय आनन्द पाउँछु । मिठोभन्दा पेट भरिने खाना खोज्छु । चाउचाउ सकेसम्म खान नपरोस् । संसारको सबैभन्दा रद्दि खाना नै चाउचाउ हो जस्तो लाग्छ । 

मनाङमा मैले रायोको सागको मःम खाएकी थिएँ । मुख नमिठो पारेर मुखमा हालिराखेको थिएँ । चपाएर निलिसक्दा फेरी पाँचवटा खान्छु भनेर थपें । क्या नौलो स्वाद ! 

पहिरन

मलाई जे सुहाउँछ त्यही पहिरन लगाउँछु–सारीदेखि स्ल्याक्सम्म । मलाई सहरीया युवाको पहिरन खास्साको लाग्छ, एकदमै गज्जब । हाम्रा परम्परागत पोशाकलाई थोरै आधुनिकीकरण गरेर लगाएमा त्यो पछिल्लो पुस्ताको रुचिमा पर्न सक्छ । 

सिनेमा

मलाई सिजिआइ, एनिमेटेडदेखि शर्ट फिल्मसम्म मन पर्छ । सयौं फिल्म हेरिन्छ । छिटफुट फिल्म हेर्ने मान्छे भए पो एउटै फिल्मको सम्झना च्यापेर बस्दो हँु । त्यसैले सबैभन्दा मन परेको कुन् फिल्म भन्नै सकिँदैन ।